नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Nepal Cover
२४ कार्तिक २०८२, आईतवार
image

काठमाडौं ।  नेप्से परिसूचक ३० अंकले घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ।  कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ अंकमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक भएको छ ।

सूचीकृत कम्पनीको कार्यसम्पादन सन्तुष्टिजनक नभएपछि त्यसको असर सेयर बजारमा देखिएको हो । चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । त्यसैगरी राष्ट्रियस्तरका विकास बैंकहरूको पनि नाफा घटेको छ । जेनजी आन्दोलन र सुस्त अर्थतन्त्रका कारण नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको आम्दानी प्रभावित भएको उनीहरूले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विरणले देखाएको छ ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसमध्ये सागर डिष्टिलरीको शेयर आजदेखि कारोबारमा आएको हो। त्यस्तै, यस दिन रु रु जलविद्युत परियोजना र १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर इण्ड डेभलपमेन्टको करिब २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।