शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए पदबाट बर्खास्त गर्ने, शिक्षामन्त्री पुन

Nepal Cover
२४ कार्तिक २०८२, आईतवार
image

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिनुभएको छ ।

आज एक सूचना जारी गर्दे मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको स्पष्ट पार्नुभएको छ ।

‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौँ,’ पुनले भनेका छन् । दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ-संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको उनले जानकारी गराएका छन् ।

शिक्षक-कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील सङ्घ-संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि भनेको छ ।