प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
२५ कार्तिक २०८२, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा वडा नम्बर ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा न्यूनतम् रकम कबोल गर्नेलाई नदिई बोलपत्र मूल्याङ्कन समिति र निर्मा व्यवसायीको मिलेमतोमा सबैभन्दा बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई उक्त ठेक्का दिइएको पाइएको आयोगले जनाएको छ ।

आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र विष्ट, ​त्रिपुरासुन्दरी ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य (एनसीसीएसपी प्रोजेक्टका इन्जिनियर) शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका प्रो. भीमराज न्यौपानेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।आयोगले उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बिगो कायम गरेर कैद र जरिवानाको मागदाबी गरेको छ ।