सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

Nepal Cover
२ मंसिर २०८२, सोमबार
image

काठमाडौँ। सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ ।  ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका छन् ।  

कार्यालय अन्तर्गत संचालित काठमाडौँका विभिन्न सडक निर्माण तथा मर्मतको लागि निर्माण व्यवसायीहरूसँग विभिन्न मितिमा ठेक्का सम्झौता भएको थियो । तर निर्माण व्यवसायीहररुले निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात् समेत निर्माण व्यवसायीहरूलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण ठेक्का तोडेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कार्य सम्पन्न गर्न सक्ने अपडेट वर्कसिट तालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित उपस्थित भई कार्य सुचारु गर्न निर्माण व्यवसायीहरूले तदारूकता नदेखाउँदा आफ्नो करारिय दायित्व पूरा नगरेको, साथै ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको, लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा कार्तिक ११ गते कार्यालयबाट ठेक्का किन नतोड्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरी स्पष्टीकरण मागेको थियो ।

तर सम्बन्धित निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी कार्तिक ३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ ।