बाराको सिमरामा एमाले समर्थक युवाहरू र जेनजीबीच झडप

Nepal Cover
४ मंसिर २०८२, बुधबार
image

काठमाडौं । बाराको सिमरामा नेकपा एमाले समर्थक युवाहरू र जेन–जी पुस्ताका युवाबीच झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली सिमरा जाने सूचना पाएपछि उनीहरुको विरोधमा उत्रिएका केही युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।

विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् । गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।

एमाले नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएपछि स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । विमानस्थल क्षेत्रमा तनाव बढेपछि काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिमराका लागि तय भएको सबै उडान रद्द गरिएको छ ।त्यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

तर, सिमरा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।