काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाप्रति उत्तेजक अभिव्यक्ति दिएका छन् । ओलीले सभा–जुलुस रोक्ने सरकारबाट निष्पक्ष चुनावको अपेक्षा गर्न नसकिने बताएका छन्। काठमाडौंमा आयोजित एमाले स्थानीय विकास विभागको भेलामा बोल्दै उनले बाराको सिमरा घटनालाई औंल्याउँदै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाए।
त्यही घटनालाई इंगित गर्दै अध्यक्ष ओलीले जेन–जी समूहका गतिविधिले राजनीतिक अराजकता निम्त्याएको आरोप लगाएका हुन् । उनले देशभर यस्ता गतिविधि बढेको टिप्पणी गर्दै केहीछिनका लागि मुसाले बिरालोलाई तर्साएजस्तो पनि भनेका छन् ।
एमालेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रियामा ओलीले भने, ‘अहिले एकछिनका लागि मुसाले बिरालो तर्साएजस्तो अवस्था छ । एमालेलाई कोही फोन गर्छ, म जेन–जी हुँ’ भनेर । अस्ति आगो लगाएको देख्यौँ । यिनलाई रोक्न कसैको ध्यान जाँदैन ।’
ओलीले त्यतिमात्र होइन २४ भदौमा सिंहदरबारमा आगो लगाउनेहरूको विषयमा पनि बोलेका छन् । उनले त्यतिबेला रोक्ने कोही भएको भए ५०/६० जनाले सिंहदरबार जलाउन नसक्ने दाबी गरेका छन् । उनले भने, ‘रोक्ने संयन्त्र नचलेपछि देशमा जे पनि हुन्छ भन्ने स्थितिको विकास भइरहेको छ ।’ ओलीले अहिले देशमा अराजक गतिविधि बढेको र राज्य संयन्त्रले प्रभावकारी भूमिका नखेलेको आरोप लगाएका छन् ।