काठमाडौँ । प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ । सर्वाेच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो । राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो ।
राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेको भन्दै कार्कीविरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो । सर्वाेच्चको कात्तिक १६ गतेको अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिए पनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ गते मन्त्रालयमा हाजिर हुनेगरी फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा दायर भएको हो ।
कात्तिक १८ गते पेश भएको मुद्दा मंसिर ३ मा मात्रै दर्ता गरी आज पहिलो सुनुवाई तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुन लागेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा छ तर अदालत अहिले नै एउटा टुंगोमा पुग्ने सम्भावना देखिन्न ।
अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै र अधिवक्ता प्रेम राज सिलवालले छुट्टै निवेदन दायर गरेका छन् । कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरिएको छ ।
न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । भोलिपल्टै परराष्ट्र मन्त्रालयको चलानी नम्बर ३४२५ मिति २०८२।०७।१७ को पत्रमा एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न निर्देशन दिइएको थियो ।
आफ्नै आदेशको पालना गराउन माग गर्दै पेश भएको निवेदनमा समेत सर्वाेच्चले सयमै दर्ता नगर्दा आदेश पालनामा सरकारी निकायहरु उदासीन भएकोप्रति न्यायिक क्षेत्र क्षुब्द बनेको छ । सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिँदै सर्वाेच्चमा रिट परेपछि सरकारले रिक्त स्थानमा नयाँ नियुक्ति नगर्ने नीति लिएको छ तर आदेश विपरित ११ देशबाट राजदूतहरु फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराइएको छ ।
चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने सरकारले राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मलिनुले निर्वाचनमा प्रयाप्त ध्यान दिन नसकेको भन्दै आलोचनासमेत हुनेगरेको छ ।