काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा सुदृढ पार्न र तस्करी नियन्त्रण गर्न बारम्बार निर्देशन दिँदै आए पनि, पर्सा जिल्लामा केही उच्च अधिकारी र कर्मचारीको संलग्नतामा तस्करी फस्टाउँदै गएको छ ।
स्रोतका अनुसार, बदलिँदो सुरक्षा चुनौती र राजस्व चुहावट रोक्न वरिष्ठ उपरीक्षक (एसएसपी) लाई मुख्य सीमा नाकामा खटाएको भए पनि पर्सा नाकाबाट तस्करी रोक्न सशस्त्र प्रहरी असफल भएका छन् । मधेस प्रदेश अन्तर्गत, सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जमा एसएसपी माधवप्रसाद पौडेल खटिएका छन् । उनी दैनिक र साप्ताहिक प्रतिवेदन बाहिनी मुख्यालयमा पेश गर्ने जिम्मेवारीमा छन् । तर पर्सामा सशस्त्र प्रहरीकै सेटिङमा तस्करी बढेको स्रोतले दाबी गरेको छ । १३ नम्बर गण पर्साका गणपती सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको नेतृत्वमा आधा दर्जन सादा पोसाकका घुमुवा प्रहरी खटाएका छन् । तस्करसँग सेटिङका लागि ती घुमुवा खटाइएको आरोप छ ।
त्यस्तै, सुरक्षा वेश पोखरियाका डिएसपी शम्भु कटुवालले सिपाही बिनय मण्डललाई सादा पोसाकमा घुमुवा परिचालन गराएका छन ्। घुमुवा मण्डलको काम पनि तस्करहरुसँग कनेक्सन मिलाएर हाकिमको लागि अतिरिक्त असुली गरी बुझाउने रहेको छ ।भारतीय बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट कालिकामाई–२ भेडिहारीका भैला भने सत्रोहन रौनियार समूहले कपडा तस्करीको लाइन पाएको छ । यो समूहले गणबाट खटिएको घुमुवा टोली र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीकै संरक्षणमा कारोबार गरिरहेका छन् ।
स्थानीयका अनुसार, बैलाको मुख्य पेशा नै तस्करी हो । तस्करीको अबैध कमाइबाट बैलाले बीरगंज, पोखरिया लगायत ठाउँमा घरजग्गा सम्पत्ति आर्जन गरेको स्रोत बताउँछ । उनले पोखरिया बजारमा मागअनुसार सामान आपूर्ति गर्दै आएका छन् ।त्यस्तै, सबैठवा नाकाबाट सख्खरको तस्करी धेरै बढेको छ । सख्खर र माछा तस्करी गर्ने एउटै ग्रुप हो । सशस्त्रका एसपी भट्ट र लहावरथकरीका डिएसपी उप्रेतीले दररेट तय गरी तस्करीको लाइन दिएको स्रोतको दाबी छ । सबैठवा नाका हुँदै रातिराति सख्खर लोड ट्याक्टर र माछा लोड पिकअप दैनिक नेपाल–भारतको दशगजामा ल्याएर नेपाली गाडीमा लोड गर्ने गरेको स्थानीयले बताएका छन् ।
भारतको भेलाही बजारसँग जोडिएको प्रसौनीभाठा नाकाबाट गम्हरिया निवासी आलम र फुलकवल निवासी अशोक साहको समूहले कपडा तस्करी गर्दै आएका छन् । उनीहरूले भेलाहीबाट ६ वटा मोटरसाइकलमा कपडा लोड गरी डकैला चौकसम्म पु¥याउने र त्यहाँबाट जितपुरका प्रदीप साह कलवार, बीरगञ्ज इनर्वा गाउँका चर्चित तस्कर राजकुमार यादव र सरोज श्रीवास्तव लगायतको समूहले जितपुरसम्म पठाउने गरेको छ । यस समूहका मुख्य नायक राजकुमार यादव रहेका छन् ।
त्यसैगरी, प्रसौनीभाठा नाकाबाट रामाशंकर साह, राजकुमार यादव, लखनपुरका रमेश र गर्दौल निवासी शहनी थरका तस्करसहित पाँच जनाको समूहले चकलेट, कस्टमेटिक, हार्डवेयर, पाउडर दूध, चिनी, किराना सामान, काजु–किसमिसजस्ता महँगा सामग्री नेपाल भित्र्याइरहेका छन् ।
अजय, जितेन्द्र, प्रकाश, रबिन्द्र गुप्ता, सरफदेव समूह, अब्दुल, रबिन्द्र साह, हरिनारायण, विनय साह, प्रकाश साह, सुनिल, मनोज, इन्द्रजित र अनिल लगायतका व्यक्तिहरू किराना, कपडा, कस्टमेटिक, हार्डवेयर, सूर्तीजन्य सामान, जुत्ता–चप्पल लगायतको तस्करीमा खुलेआम संलग्न रहेको पाइएको छ ।सिर्सिया बीओपीमार्फत् जितु साह, वकिल मियाँ, भोला साह, बबन ठाकुर र माष्टर मियाँले टेम्पुमा भन्सार छलीको कपडा नेपाल ल्याएर ट्रान्सपोर्टमार्फत् काठमाडौं लगायतका सहरमा पठाउने काम गर्दै आएका छन् । यसमा मदन गुप्ताको “महाशक्ति ट्रान्सपोर्ट” प्रयोग हुने गरेको छ ।
सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मार्फत् पशुपति यादवले काजु तस्करी गरी नेपाल ल्याउने गरेको स्रोतले जनाएको छ । पर्साका विभिन्न नाकाबाट समेत तस्करीको लाइन सक्रिय छ । जस्तै भिस्वा, धोरे, तिलावेबार्वा, आसबारी, जानकीटोला, अमरपट्टी र अलौ । आसबारी नाकाबाट अदालत र सन्जुरले चल्ला तस्करी गरिरहेका छन् भने भैंसीको तस्करी पनि हुँदैआएको छ ।अमरपट्टीबाट धनन्जय पटेल र स्वरुप साहले पनि चल्ला तस्करीमा संलग्न रहेको पाइएको छ ।
त्यस्तै, अमरपट्टी र अलौबाट तारकेश्वर साहले रजनीगन्धा ल्याउने गरेका छन् । भुवन यादवले दैनिक ५ पिकअप भैंसी र राँगा भारतबाट नेपाल ल्याउने र नेपालकै भनेर काठमाडौंदेखि विभिन्न सहरमा पठाउने गरेका छन् ।स्थानीय व्यवसायीका अनुसार, बीओपीमा रकम नबुझाए आफ्नो सामान तुरुन्तै जफत हुने गरेको छ । “दुई पैसा कमाउनका लागि हामीले पनि रकम तिरेर काम गरेका छौं, नत्र यस्तो ठूलो काम गर्न हाम्रो हिम्मत पुग्दैन,” एक व्यवसायीले बताए ।
पर्साका सबै नाकाबाट तस्करी भइरहेको भन्ने विषयमा गण, बाहिनीदेखि हेडक्वार्टरसम्म गुनासो पुगेको छ । साथै, अनलाइन पत्रपत्रिकामा पनि यस विषयमा प्रकाशन भइरहेका छन् । तर, सशस्त्र प्रहरी हेडक्वार्टरले अहिलेसम्म तस्करी रोक्न वा अनुसन्धान गरेर कारबाही अघि बढाएको छैन । यसले सशस्त्र संगठनमा काम कारबाही फितलो भएको धारणा आम सर्वसाधारणमा फैलिएको छ ।
स्थानीयहरूले सशस्त्र प्रहरी नं. १३ गणका गणपति एसपी पुरनचन्द्र भट्टलाई भन्सार छली, चोरी र तस्करी नियन्त्रणमा असफल भएको आरोप लगाएका छन् । भट्टमाथि साना–साना सामान बरामद गरी ‘देखावटी कारबाही’ र ‘प्रचारबाजी’ गर्ने प्रवृत्ति रहेको गुनासो पनि उठेको छ ।
जानकारका अनुसार, भट्टलाई तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा महोत्तरी गणबाट पर्सा गणमा प्रमुख बनाएर पठाएका थिए।
पछिल्ला दिनमा तराई क्षेत्रमा तस्करको सामराज्य खडाभएको बताइएको छ।