महेश बस्नेत सवार गाडीमा जेनजी युवाद्धारा रातो मसी छ्यापियो, दुई युवा पक्राउ

Nepal Cover
८ मंसिर २०८२, आईतवार
image

मोरङ । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा उक्त घट्ना भएको हो ।

प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।

पक्राउ परेका कुँवरले प्रहरीलाई दिएको बयानमा “महेश बस्नेत र नेकपा एमालेविरुद्ध सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको” बताएका छन्। प्रहरी भ्यानमा राखेर लैजाँदा पनि उनले बस्नेतविरुद्ध नारा लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि, आक्रमणकारीले प्रयोग गरेको रातो मसीले गाडीको अगाडिको सिसा र बडीमा दाग लागेको छ। बस्नेतलाई भने कुनै शारीरिक क्षति पुगेको छैन।

यो घटना एमालेको युवा संघको कार्यक्रमका क्रममा भएकोले राजनीतिक रंग दिइएको छ तर पक्राउ परेकाहरूले कुनै दलसँग आबद्ध भएको खुलाएका छैनन्।