काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो आदेश दिएको हो।
‘निवेदकको मागबमोजिम किन आदेश किन जारी हुनु पर्ने हो’ १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले भनेको छ। राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरूद्ध अवहलेना मुद्दा दायर भएको थियो।
अधिववक्ता प्रेम सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त भएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो।
अदालतको आदेश आएकै भोलिपल्ट सरकारले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रलायमा हाजिर हुन निर्देशन दिएको थियो।