काठमाडौँ। जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावाद कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।
उनका अनुसार प्रमुख स्वकिय सचिवले नातावाद र कृपावादलाई बढावा दिँदै आफ्नी श्रीमतीसहित नातेदारलाई सचिवालयमा नियुक्त गराएको खुलेपछि सचिवालयको नैतिक विश्वसनीयतामै प्रश्न उठेको छ। बमले यसलाई “नैतिक भ्रष्टाचारको स्पष्ट उदाहरण” भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन्।
बमले जेनजी आन्दोलन केवल आर्थिक भ्रष्टाचारविरुद्ध मात्र नभई नातावाद, कृपावाद र नैतिक अपवित्रता विरुद्ध भएको उल्लेख गर्दै, संवेदनशील परिस्थितिमा गठन भएको नागरिक सरकारकै नाम ओढेर स्वार्थपूर्ति गर्न खोजिएको आरोप लगाइन्। उनले यस्तो व्यवहारले “परिवर्तनको लागि बगेको रगतको अपमान” भएको समेत बताएकी छन्।
‘जेनजी आन्दोलनको मूल आवाज सुशासन, पारदर्शिता र जवाफदेहिता थियो,’ बमले भनिन्, ‘तर प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले श्रीमतीसहित नातेदारलाई जागिर दिलाएर नैतिकता उल्टो दिशामा लगेका छन्, जो नागरिक सरकारको सिद्धान्तविपरीत छ।’ देश लोकतान्त्रिक निकासको संवेदनशील मोडमा हुँदा सरकार नै चौतर्फी आक्रमणको सामना गरिरहेको छ। यस्तो बेलामा स्वार्थी व्यवहारले नागरिक सरकारलाई कमजोर बनाउने भन्दै उनले आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गरी पारिवारिक नियुक्तिहरू खारेज गर्न माग गरेकी छन्।
पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएको, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएको र नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि नियुक्त गरेको भन्दै प्रमुख स्वकीय सचिव श्रेष्ठको आलोचना भई रहेको छ । यसबारे उनको भनाई लिन खोज्दा मोबाइल अफ छ ।
