काठमाडौँ । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।
मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानु अघि नयाँ नेतृत्व चयन प्रक्रियाबारे छलफल भइरहेको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय हुने बताइँदै आएको यो प्रक्रियामा सुमनराज अर्याल, प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा। कृष्णहरि पुष्कर आकांक्षीका रूपमा चर्चामा रहेका थिए।
छलफलका क्रममा मुख्यसचिव पद देशको प्रशासनिक नेतृत्व, नीतिगत सल्लाह, मन्त्रालयबीच समन्वय र सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडिने भएकाले योग्य, विवेकशील र संस्थागत परम्परा बुझ्ने व्यक्तिहरू नै उपयुक्त हुने बहस प्रशासनिक वृत्तमा निरन्तर चलिरहेको थियो।
विशेष गरी राजनीतिक प्रभाव, बिचौलियाको पहुँच र शक्ति-समूहको दबाबबाट मुक्त ‘निष्पक्ष नेतृत्व’ आउनुपर्ने माग कर्मचारी वृत्तमा बलियो देखिएको थियो।
हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।