रवि र छविको मुद्दाको आज पेशी

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौँ । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध  अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ३ नम्बर इजलासमा परेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या १ मा पेसी परेको छ। यसअघि यही मंसिर ४ गते पनि यही इजलासमा क्रमसंख्या १ मा नै पेसी परेको थियो । सो दिन रविका कानुन व्यवसायीको निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरू दुवैलाई मुद्दामा यसअघि कात्तिक २० गतेको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो।

त्यसपछि अघिल्लो साता पेशी तोकिए पनि लामिछानेका कानून व्यवसायीको मागका कारण सुनुवाइ स्थगित भएको थियो।

यसअघि, कात्तिक १३ गते तोकिएको पेशी पनि छविलाल जोशीका कानून व्यवसायीको निवेदनले गर्दा स्थगित भएको थियो। त्यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।

लामिछानेले आफ्नो भागको बिगो रकम सहकारीमा अपचलन गरेको भन्दै दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

अहिले लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन्।