काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने भएको छ। बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा शुक्रवार बसेको संस्थापन पक्षको छलफलले निर्वाचनअघि सबै विवादित क्रियाशील सदस्यताको टुङ्गो लगाएर मात्र महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ।
भेलाले अहिलेको असामान्य राजनीतिक परिस्थितिमा चुनावपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो। बैठकमा वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने विषयमा पनि विस्तृत छलफल भएको छ ।
केन्द्रीय सदस्य डा. रणबहादुर रावलका अनुसार अहिले जिल्ला सभापतिदेखि तल्ला तहका सबै कमिटीको म्याद १० गते सकिइसकेको छ भने केन्द्रीय कार्यसमितिको म्याद मङ्सिर २८ गते सकिँदै छ । यस्तो अवस्थामा विधानबमोजिम म्याद थपको प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा पेस गरिने र सहमति नभए बहुमत-अल्पमतबाट निर्णय लिनुपर्ने विषयमा पनि संस्थापन पक्ष सकारात्मक देखिएको छ ।
कांग्रेसभित्र महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा चर्को विवाद कायमै छ । यही विवादका कारण असोज २८ गतेदेखि सुरु हुनुपर्ने केन्द्रीय कार्यसमिति बैठक पटक-पटक स्थगित हुँदै आएको छ । संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ भने महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् ।