एनआरएनएको दुई समूहबीच एकता घोषणा

Nepal Cover
१५ मंसिर २०८२, आईतवार
image

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को दुई समूहबीच आज एकता भएको छ । बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनआरएनए पछिल्लो केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।

उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान समेत गरे ।

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने प्रतिबद्धता जनाइन् । उनले दलहरुबीच हुन विवादले मुलुकको समृद्धिमा नै असर पर्ने देखिएकाले एनआरएनएको एकताबाट दलहरुले पनि सिक्नुपर्नेमा जोड दिइन् ।

सो क्रममा एनआरएनएका अध्यक्ष डा बद्री केसीले मुलुक अप्ठेरो अवस्थामा रहेकाले एनआरएनए एकताबद्ध भएर अघि बढ्न लागेको बताए । नेपाल समृद्ध बनाउनका लागि एनआरएनएलाई दिर्घकालिन एकताबद्ध भएर देशलाई योगदान दिने उनले बताए ।

त्यस्तै एनआरएनएका अर्का अध्यक्ष महेश श्रेष्ठले संस्थामा चार बर्षदेखि देखिएको विवाद अन्त्य भएको घोषणा गरे । समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताका साथ एनआरएनए अघि बढ्ने भन्दै उहाले राजनीतिक दलहरु पनि एकताबद्ध भएर देशको हितमा अघि बढ्नुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीहरुले उठाएका बिभिन्न मुद्दाहरुलाई सरकारले सम्वोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको दुईपक्षबीच ६ महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ । एनआरएनएभित्रको विवादका कारण दुवै पक्षले पछिल्लो केहिबर्षयता छुट्टाछुट्टै गतिविधि गर्दै आएको थियो ।