सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम भने बढ्यो

Nepal Cover
२२ मंसिर २०८२, आईतवार
image

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ ।

आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११ : ०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो । ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोडको कारोबार भएकोमा पनि ५ अर्ब ३३ करोडको भयो ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ८.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सागर डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ।