चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

Nepal Cover
३० मंसिर २०८२, सोमबार
image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।

अख्तियारका अनुसार, २०७४ जेठदेखि सार्वजनिक पदमा रहेका बेला चालिसेले कुल ८ करोड ५६ लाख रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेका थिए । तर, वैध स्रोतबाट मात्र ४ करोड ८८ लाख रुपैयाँ आर्जन भएको पाइएको छ । यसरी ३ करोड ६८ लाख ४७ हजार ४६१ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले सोही रकम बिगो कायम गरी जरिवाना, जफत र कैद सजाय माग गरेको छ ।

अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा चालिसे, छोराहरू सागर र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाएको छ । 

अनुसन्धानमा चालिसेले सम्पत्ति विवरणमा वास्तविक तथ्य लुकाएर झुटा विवरण पेस गरेको र अस्वाभाविक रूपमा उच्च जीवनस्तर कायम गरेको पाइएको जनाइएको छ ।

चालिसे २०७४ मा गोकर्णेश्वर मेयर निर्वाचित भएका थिए । पाँच वर्षे कार्यकालपछि २०७९ को निर्वाचनमा काठमाडौं–३ बाट सांसद बनेका थिए ।