विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
जसमा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन् ।
प्रहरीले छापा मार्दा क्यासिनोमा नेपाली भेटिएकाले पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनले भने, ‘क्यासिनोमा नेपाली प्रवेश निषेध छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।