काठमाडौं । सरकारले निर्वाचन प्रणालीसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा राजनीतिक दल तथा सरोकारवाला पक्षसँग सुझाव मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । जहाँ प्रस्तुतीकरण गर्दै गृहमन्त्रालयले तीन वटा विषयमा सुझाव मागेको हो ।
गृहमन्त्रालयले सुझाव मागेका विषयहरू यस्ता छन्- पहिलो, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था ।
दोस्रो, अन्तर निर्वाचन क्षेत्र मतदान (एक निर्वाचन क्षेत्रमा नाम भए पनि अर्को क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था)।
तेस्रो, निर्वाचनमा ‘नो भोट’ (कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्प) को प्रावधान ।
गृहमन्त्रालयको प्रस्तुतीकरणअनुसार यी विषयलाई समेट्ने गरी सरकारले निर्वाचनसम्बन्धी चार वटा ऐन संशोधन गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भए पनि उक्त मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमै फिर्ता आएको छ ।