काठमाडौं । जेन–जी आन्दोलन जाँचबुझ गर्न गठित छानवीन आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरिएको छ ।
आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ । केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकेलगत्तै आयोगले दुवैलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो ।
आयोग स्रोतका अनुसार ओली र लेखकलाई बयानका लागि बोलाउँदा कम्तीमा एक साताको समय दिने गरी पत्राचार गरिनेछ । आयोगले हाल काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ । त्यस्तै, हालका प्रहरी महानिरीक्षक तथा जेन–जी आन्दोलनका बेला एआईजी रहेका दानबहादुर कार्कीको बयानको केही अंश बाँकी रहेको आयोगले जनाएको छ ।
एक–दुई दिनभित्र बाँकी बयान सकिएपछि तत्कालीन सरकारको नेतृत्व तहसम्म पुग्ने गरी प्रक्रिया अघि बढाइने आयोगको तयारी छ । जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार बाँकी बयान पूरा भएपछि आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई औपचारिक रूपमा बयानका लागि बोलाउनेछ ।
एमालेका अध्यक्ष ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगलाई अस्वीकार गरेका बेला उनलाई बयानमा ल्याउनकै लागि समय थप गरिएको हो ।