प्रतिनिधिसभा पुनर्स्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै

Nepal Cover
९ पुष २०८२, बुधबार
image

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र अन्य साना दलका गरी ६८ सांसदले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ।

नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित कुल ६८ सांसदको हस्ताक्षरसहितको पूरक रिट मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।  एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनस्र्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दायर गरेका थिए भने पछि थप ६० सांसद प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन्।

कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा हालसम्म हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या १४३ पुगेको छ।