राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति

Nepal Cover
१६ पुष २०८२, बुधबार
image

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा ४ वर्षपछि आफ्नो मूल घर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज एकता भएको छ ।

६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै थापाले राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ ।

यसैगरी पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै (हलो) कायम हुने सहमति भएको छ।

दुई पार्टीबीचको एकीकरण पछि राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ नै पार्टीको वैचारिक दर्शन हुनेछ। जसअनुसार सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई मार्गदर्शक सिद्धान्त मानिनेछ।

दुई पार्टीबीचको संगठन समायोजनका सम्बन्धमा पनि सहमति भएको छ । जसअनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ।

राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ। यसैगरी जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।

राप्रपा नेपालका जनवर्गीय संगठन (भातृ संगठन) का पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा सम्मानजनक रूपमा समायोजन गरिने सहमति पत्रमा उल्लेख छ। एकीकृत पार्टीमा कमल थापाको भूमिका भने सहमतिपत्रमा खुलाइएको छैन ।