प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Nepal Cover
२४ पुष २०८२, बिहीबार
image

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम(४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन् । एसपीहरु भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुईवटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो ।

प्राविधिकतर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ भने एक सिट मन्त्रिपरिषद्ले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।