काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले सरकारको भूमिका पूर्ण रूपमा निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्।
सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो ।
जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबैपक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिनुभयो । कृतिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उहाँले सचेत गराउनुभयो ।