काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा हुँदैछ । उक्त मुद्दामा दुर्गा प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको छ । न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो ।
नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईँविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।