काठमाडौँ । १८ महिनाअघि मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष आज (आइतबार) फेला परेको छ।
भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट गत वर्ष नदीमा खसेका दुई मध्ये एउटा बस हुन सक्ने आशंका गरिएको छ । नदीमा बेपत्ता भएको ठाउँबाट २०० मिटरनजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उनका अनुसार, नीलो रङको देखिएको र नदीमा हराएको गणपति डिलक्स बसको रङसँग मिलेकाले सोही बस हुन सक्ने सम्भावना छ । यद्यपि, बस निकालेपछि मात्र यकिन भन्न सकिने उनले बताए ।
०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए ।
दुई बसमा सवार ६२ जनामध्ये ११ जनाको शव फेला परेको थियो । तीनजना घाइते भएका थिए । घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।