काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले अस्थायी रूपमा रोेक्न आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश दिएको हो ।
अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेशी तोकिएको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।
मिति २०८२।१०।६ गतेको अन्तरिम आदेश छलफलको लागि पेशी तोकी सो को सूचना निवेदक र विपक्षीहरूलाई दिई सो अवधिसम्मको लागि मिति २०८२।९।२१ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना बमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा लेखिएको छ ।