काठमाडौँ । नगद कारोबारमा आजदेखि ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् ।
सरकारले एक दशकअघिदेखि नै नगद कारोबारमा सीमा लगाउँदै आएको छ। २०७३ चैत १० गते राजपत्रमा सूचना जारी गरी पहिलो पटक नगद कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो। उक्त व्यवस्था २०७४ साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
सोही व्यवस्था अनुसार हिजोसम्म १० लाख रुपैयाँसम्मको कारोबार नगदमा गर्न पाइन्थ्यो। तर, आजदेखि त्यो सीमा आधा घटेर ५ लाख रुपैयाँमा सीमित भएको छ। अब ५ लाख वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु तथा सेवा खरिद-बिक्री गर्दा नगदमा भुक्तानी गर्न पाइने छैन।