काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् ।
आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि काँग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।
शेरबहादुर देउवा नेतृत्वको काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौँ,’ उपसभापति शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ ।’
पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले महाधिवेशन आह्वान गरेको जानकारी गराएका हुन् । उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए ।
विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘ कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’
नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्धति भएको शर्माक भनाइ रहेको छ ।
‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ,’ उनले भने, ‘१५औँ महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गर्ने अवस्थामा पुग्यौँ । नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेको छ ।