सेयर बजार उत्साह : परिसूचक ५८ अङ्कले  बढ्यो

Nepal Cover
१२ माघ २०८२, आईतवार
image

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ९ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३१ स्टकको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमा १३ अर्ब ७८ कराड ५७ लाख २९ हजार रुपैयाँबराबरको ३ करोड ९ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ५.८० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।