काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालबाट भिडियो सन्देश जारी गर्दै थापाले काठमाडौं ४ का मतदातालाई पटकपटक निर्वाचित गराएकोमा कृतज्ञता व्यक्त गरे। थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका छन्।
‘एउटा विधायकका रूपमा निर्वाह गर्नुपर्ने भूमिका मैले इमानदारीपूर्वक निर्वाह गर्ने कोसिस गरेँ । कति गल्ती–कमजोरी पनि भए । तपाईंहरूले सिकाउनुभयो । कतिपय ठाउँमा प्रश्नहरू गर्नुभयो । तर, सधैँभरि मलाई माया गर्नुभयो,’ काठमाडौं ४ का मतदातालाई सम्बोधन गर्दै उनले भने।
नेपाली कांग्रेसजस्तो राष्ट्रिय पार्टीको जिम्मेवारी निर्वाह गरिरहँदा आफूलाई मधेशसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने इच्छा भएको उल्लेख गर्दै थापाले मधेशका मुद्दा बुझ्दा समग्र नेपालकै मुद्दालाई हल गर्न सक्ने विश्वास लिएको बताए।
‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौंमा हुर्केको म, सिंगो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो टेक्नुपर्छ, ढोग्नुपर्छ, त्यसको आशीर्वाद लिनुपर्छ, त्योसँग जोडिनुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ,’ सभापति थापाले भने।