आयोगले पाँच उम्मेदवारलाई सोध्यो स्पष्टीकरण

Nepal Cover
१४ माघ २०८२, मंगलवार
image

काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हाे । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार हुनुहुन्छ । बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो । साेही  विषयमा स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उहाँलाई स्पष्टीकरण माग गरेको छ । त्यस्तै, उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारमाथि  ‘हत्यारा’,  ‘बलात्कारी’ जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक प्रवक्ता सीता पुनले बताउनुभयो ।  

सोहीअनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेनलाई  ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने जनाएको छ । त्यसैगरी, स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ ।

अर्को विषयमा एक शिक्षक सरुवाको विषयसमेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान गर्ने जनाएको छ ।