काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादीहरूमाथिको सुनुवाइ विशेष अदालतमा सम्पन्न भएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सम्पन्न भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार पूर्वमन्त्री बस्नेतले आवश्यक अध्ययन र प्रक्रिया बिना नै आफ्नै प्रस्तावमा टेरामक्स प्रविधि खरिदसम्बन्धी निर्णय गराएको आरोप छ। स्वायत्त निकाय नेपाल दूरसञ्चार प्राधिकरणमाथि बजेट तथा कार्यक्रम स्वीकृतिका क्रममा अन्तर्राष्ट्रिय कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने निर्णय गराइएको अभियोगपत्रमा उल्लेख छ।
त्यसैगरी, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स प्रणाली लागू गर्न खोजेको आरोप लगाइएको छ। अब विशेष अदालतले यस प्रकरणमा फैसला सुनाउने मिति तोक्ने अपेक्षा गरिएको छ।