नेप्से सामान्य अंक बढ्यो, कारोबार रकम भने घट्यो

Nepal Cover
१५ माघ २०८२, बुधबार
image

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।

सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ । मंगलबार २७२६.५१ बिन्दुमा बन्द भएको बजार बुधबार भने २७३१.८९ अंक पुगेको छ ।

दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।