राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

Nepal Cover
१९ माघ २०८२, आईतवार
image

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको जनाएको छ । त्यस्तै सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जानकारी दिएको छ ।