काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ । कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ ।
आजको बजारमा सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । त्यसैगरी, क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रवा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ ।
आईतबारको बजारमा आँखु खोला जलविद्युत कम्पनीको शेयर सर्वाधिक रुपैयाँको कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको हो भने एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।