काठमाडौँ। इरान र अमेरिकाबीच बढ्दो तनाव तथा इरानको पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ। साथै, अर्को सूचना नभएसम्म इरान भ्रमण नगर्न नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विशेष सूचना जारी गर्दै इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई भनेको छ। त्यसै गरी, हाल कामका सिलसिलामा वा अन्य कारणले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी छिटोभन्दा छिटो इरान छाड्न मन्त्रालयको सुझाव छ।
इरानमा रहेका नेपालीहरूलाई आपत्कालीन अवस्थामा देशबाट बाहिरिन सहज होस् भन्नका लागि आफ्नो राहदानी (पासपोर्ट) र परिचयपत्र लगायतका यात्राका कागजातहरू हर समय तयारी अवस्थामा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि १३ जनवरी २०२६ मा पनि यसै विषयमा सूचना जारी गरेको थियो। इरानको अस्थिर परिस्थितिका कारण आइतबार पुनः अर्को सचेतना सूचना जारी गरिएको हो।
इरानमा रहेका नेपालीहरूको समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ र नेपाली राजदूतावास, दोहा (कतार) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।