वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ ।
अवैध रूपमा भण्डारण गरिएको सामानबारे अनुगमन गर्न पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि आक्रमण भएको छ। घटनामा ३ जना सशस्त्र प्रहरी बलका सदस्य घाइते भएका छन् भने सरकारी सवारी साधनमा समेत क्षति पुगेको छ।
भन्सार निकायका अनुसार गैरकानुनी सामान गोदाममा राखिएको भन्ने सूचनाका आधारमा सुरक्षाको व्यवस्था मिलाई सम्बन्धित स्टोरमा अनुगमन तथा कारबाहीका लागि टोली परिचालित गरिएको थियो। सो क्रममा त्यहाँ भेला भएका केही स्थानीय व्यक्तिहरूले अचानक ढुंगामुढा गरेपछि अवस्था अशान्त बनेको थियो।
प्रहरी स्रोतका अनुसार भन्सार प्रशासनको नियमित कार्यान्वयनमा अवरोध सिर्जना गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए।