नेप्से सूचकमा दोहोरो अंक गिरावट 

Nepal Cover
२७ माघ २०८२, सोमबार
image

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो ।

सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो नै रह्यो । कारोबारको अन्तिम समयमा भने घट्ने क्रममा कमी आएको थियो । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक २६ अंक घटेर बन्द हुँदा २६७२.३९ मा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको १ लाख २ हजार २८१ पटकको कारोबारमा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७७ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको ५४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।