तस्करीमा लाग्ने समूहले प्रहरी माथि आक्रमण

Nepal Cover
२७ माघ २०८२, सोमबार
image

काठमाडौँ । वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् ।

घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सवारीसाधन तोडफोड भएको छ । केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार आज विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाई-छिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो ।

एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे.क्वा. पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना साथै वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जनाको संयुक्त टोली परिचालित थियो ।

सामान लोड गर्ने क्रममा स्थानीय २०/२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको प्रवक्ता भट्टले बताए । स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलिको बायाँ हातमा चोट लागेको, सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको तथा नं. १३ गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको छ प्रवक्ता भट्टले बताए ।

संयुक्त टोलीले करिब ५ लाख मूल्य बराबरका भन्सार छलीका ५ पोका कपडा बरामद गरेको छ । बरामद सामग्री भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।प्राप्त जानकारी अनुसार बिरगंजका धेरै स्थानमा भन्सार छलीका समान स्टोर गरेर राखिएको भएपनी राज्यको तर्फबाट संरक्षण गरिएकै कारण तस्करहरुको मनोबल बढेर यस्ता आक्रमण सम्मका घटनामा उत्रिएका छ्न।

चुनावका बेला तराई क्षेत्रका अधिकांस स्थानबाट तस्करी भैरहेको र त्यो तस्करीमा प्रहरी ,राजस्व अनुसन्धानका कार्यालय प्रमुखको मिलोमतो हुने समाचार श्रोत बताउछ। सुरक्षा टोलीमाथि आक्रमणमा संलग्नको पहिचान गरी आवश्यक कानुनी कारवाहीका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।