काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
अंग्रेजी शब्द प्रयोगले नेपाली मौलिकता हराउने भन्दै विरोध हुँदै आएको थियो । अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, यातायात तथा अर्थ मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाएर रिट दिएका थिए । आइतबार न्यायाधीशद्वय पौडेल र रेग्मीको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता राउतले सर्वोच्चको अन्तरिम आदेश जारी भएसँगै सकारात्मक सन्देश प्रवाह भएको र यो नेपालीको जित भएको प्रतिक्रिया दिए । सर्वोच्चको आदेशसँगै देवनागरी लिपीलाई विस्थापित गरेर अंग्रेजी भाषा मात्रै प्रयोग गर्ने गरी भएको निर्णय कार्यान्वनय नहुने भएको छ ।
नम्बर प्लेटमा देवनागरी लिपिमा आधारित नेपाली अक्षर र अंक अनिवार्य रूपमा राख्न अन्तरिम आदेश जारी गरेको अधिवक्ता राउतले बताए । यो अन्तरिम आदेशले नेपालका सम्पूर्ण सवारी साधनहरुमा नेपाली पहिचान झल्किने देवनागरी लिपि प्रयोग गर्नुपर्ने संवैधानिक अधिकारलाई पुनःस्थापित गरेको उनको भनाइ छ ।