वीरगंज । जिल्ला प्रहरी कार्यालयले वीरगंजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गरेको थियो।
आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो। प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ र संलग्न व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ। छापाका क्रममा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियाे ।