जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

Nepal Cover
२८ माघ २०८२, मंगलवार
image

काठमाडाैँ । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

तीन महिनाको समय दिएर गठित आयोगले निर्धारण गरिएको समयमा काम नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि आयोगको म्याद थपेको थियो । त्यो समयमा पनि काम नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः २० दिन थप्ने निर्णय गर्‍यो । त्यो समय बुधबार (माघ २८ गते) सकिँदैछ । 

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।