सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- चुनावी सुरक्षाका लागि सतर्क रहनुहोस्

Nepal Cover
२८ माघ २०८२, मंगलवार
image

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिइन् ।

प्रधानमन्त्रीले भनिन्- ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव र आसन्न निर्वाचनका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्नु आवश्यक छ ।’

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

साथै जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उनले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न समेत निर्देशन दिइन्।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देललगायत रक्षा सचिव, बलाधिकृत, रथी वृन्द, रक्षा मन्त्रालय तथा नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।