काठमाडौं आइपुगे पूर्वराजा शाह, समर्थकले गरे स्वागत 

Nepal Cover
१ फाल्गुन २०८२, शुक्रबार
image

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।

तीन महिनाको झापा बसाइपछि शुक्रबार काठमाडौँ आएका उनलाई समर्थकहरूले स्वागत गरेका हुन्। विमानस्थल र मार्गमा सहभागीहरूले फूल र झण्डासहित उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आऊ देश बचाऊ’लगायतका नारा पनि लगाएका थिए।

उनलाई समर्थकले र्‍याली निकालेर निर्मल निवाससम्म लैजाने क्रम जारी राखेका छन्। उनलाई स्वागत गर्न दुर्गा प्रसाईं र राप्रपा नेता कमल थापा लगायत समर्थक पुगेका थिए।

विमानस्थनमा प्रशासनले निशेधाज्ञा जारी गरेको छ। त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वराजा शाह कैलाश एयरको हेलिकप्टरमा दमकबाट काठमाडौँ आएका हुन्।

ठूलो संख्यामा प्रदर्शनकारीहरू विमानस्थल पुगेपछि प्रशासनले पूर्वराजालाई सोझै निर्मल निवास जान आग्रह गर्ने तयारी पनि गरेको थियो। तर, विमानस्थलको बढ्दो भिडका कारण प्रशासनले उनलाई विमानस्थलमा ओर्लेर स्वागत र अभिनन्दनसहित निर्मल निवास जान अनुमति दिएको हो।