रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश

Nepal Cover
४ फाल्गुन २०८२, सोमबार
image

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।

जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

“देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।

सोमबार नेकपा (एमाले)रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,वासुदेव घिमिरे, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले उनलाई स्वागत गरेका थिए ।

यादव यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए। यस पटक भने नेपाली कांग्रेसले टिकट नदिएपछि उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन्।