काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारका अवसरमा मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
उनले लोकतन्त्रमा जनताको अभिमत व्यक्त गर्ने सबैभन्दा उपयुक्त र वैधानिक माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरे। राष्ट्रपति पौडेलले मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सुशासन र आर्थिक समृद्धि अपरिहार्य रहेको कुरामा जोड दिए।
शेर्पा समुदायको योगदानको प्रशंसा गर्दै उनले भने, ‘आफ्नै विशिष्ट परम्परा, संस्कृति र पहिचान रहेको शेर्पा समुदायले नेपालको सान र गौरव विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’ हिमाली क्षेत्रबाट विश्वका विभिन्न कुनामा पुगेर शेर्पा जातिले नेपालको प्रतिष्ठा बढाएकोमा उनले खुसी व्यक्त गरे।
नेपालका मौलिक चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व बढाउन योगदान पुर्याउँदै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउनु सबैको साझा दायित्व भएको बताए। शेर्पा समुदायले यस वर्षको ग्याल्पो ल्होछार फागुन ६ गते मनाउँदैछन्।