काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८ अंक घटेको नेप्से मंगलबार २० अंक घटेको छ ।
आज कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर नकारात्मक नै रह्यो । २६६२.१० अंकमा रहेको नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो । आज नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्नुका साथै समूहगत सूचक समेत नकारात्मक छन् । नेप्सेमा कारोबार भएका २ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूूल्य यस दिन ३३ रुपैयाँबढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ।