काठमाडौं । नेपाली कांग्रेसले सरकारमा आएपछि वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानी करमुक्त हुने घोषणा गरेको छ। पार्टी सभापति गगन थापाले एक कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’मा आयोजित खुला बहसमा यस योजना सार्वजनिक गरेका हुन्।
थापाले विदेशी लगानी आकर्षित गर्न भाषण मात्र पर्याप्त नभएको र यसका लागि नीति सुधार आवश्यक रहेको उल्लेख गर्दै, यसअन्तर्गत १० लाखसम्मको आम्दानीमा कर नलगाउने जनाए । संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए ।
नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनको भनाइ छ । भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा-मोबाइल लिएका युट्युबहरू समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए । काँग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले दोहोर्याएका छन् ।