रास्वपाले कर्णालीको उत्पादनलाई विश्वभर पुर्‍याउने बालेनको दाबी

Nepal Cover
७ फाल्गुन २०८२, बिहीबार
image

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन् ।

बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । ‘शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।

आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कर्णालीको पीडा र दुःखलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको उनले बताए ।

‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ,’ बालेनले भने, ‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौँ । त्यो बुझ्ने पार्टी हो रास्वपा ।’

कर्णालीको यार्सागुम्बा विश्वभर पुग्दा जुम्लाको स्याउ देशभरी पुग्न नसकेको भन्दै रास्वपाले पुर्‍याउने बालेनले बताए । ‘आजको दिनमा सुनजस्तो मानिने डोल्पाको यार्सागुम्बा विश्वभरी पुग्नसक्छ,’ उनले भने, ‘तर, कर्णाली स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन यहाँको उत्पादनलाई देशभरी पुर्‍याउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’